सिमसार र समुदाय

सिमसार भनेको जहाँ बर्षै भरि अथवा कुनै मौषममा प्रचुर मात्रामा पानी रही कुनै खासप्रकारको बनस्पति तथा प्राणीहरुको जीवनचक्रलाई पुरा गराउने प्रणालीको विकास भएको जमिनको कुनै भुभाग भन्ने बुझिन्छ । हाम्रो सन्दर्भमा यसलाई सिम, दलदल, घोल आदि जस्ता नामबाट पनि बुझिन्छ । पर्यावरणीय हिसाबले सिमसार एक पारिस्थितिकिय प्रणाली हो जसले बातावरणीय सन्तुलनका लागि विभिन्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मुख्यतया पानीको सफाई, बाढी नियन्त्रण र जैविक विविधताको बासस्थानका रुपमा सिमसारको महत्वलाई हेर्न सकिन्छ । सिमसार विभिन्न प्रकारका बनस्पतिहरु जस्तै पानीमुनी पाइने बनस्पतिहरु, सतहमा पाइने बनस्पतिहरु तथा वरिपरि रुख तथा बुट्यानहरु तथा विभिन्न प्रकारका जीवहरु जस्तै माछा, भ्यागुताहरु, कछुवा, सर्प, गोही, छेपारोहरु, कीटपतङ्ग लगाएत ठूलाठूला जनावरहरुको आश्रयस्थल पनि हो । हाम्रो जस्तो देशमा सिमसारले समुदाय वा समाजलाई विभिन्न सेवाहरु पु¥याउँदै आएको छ र जसका कारण विभिन्न आदिबासी समुदायको जीविकोपार्जन र संस्कृति पनि सिमसार सँग जोडिएको पाइन्छ । सिमसारबाट समुदायले विशेष गरि जस्तैः तरकारीहरु, माछा, घोँगी, सिमलकाँडे, लगाएतका विभिन्न खाध पदार्थहरु उपयोग गरेका हुन्छन् भने सिमसारले कतिपय उर्बर जमिनलाई सिँचाइका लागि पनि पानीको आपुर्ति गराएको हुन्छ । त्यसै गरी सिमसारमा पाइने विभिन्न बनस्पति र सुक्ष्म जीवाणुहरुले गर्दा विभिन्न वन्यजन्तुहरु तथा चराचुरुङ्गीहरुको जीवनचक्र पुरा हुन सम्भव भएको छ । विश्वका धेरै ठाउँहरुमा विकास निर्माण सँगसँगै भित्रिएका विभिन्न मानवीय क्रियाकलापहरु जस्तैः बन विनास, रासायिनक मल र विषाधिको अत्याधिक प्रयोग, सडक निर्माण, बस्तीविकास, र मानविय अतिक्रमण तथा जलवायु परिवर्तन बाट सिर्जित प्रभाव र खतराहरुले सिमसार र यसमा निहित श्रोतहरु संकटासन्न अवस्थामा पुगेको छ । विश्वका सिमसारहरुमा परेको चुनौतीहरुलाई समाधान गरी सिमसारहरुको स्थानीय र राष्टिय कार्ययोजना सहित र अन्तराष्टिय सहकार्य बढाई सिमसारहरुको दिगो व्यवस्थापनका लागि सन् १९७१ मा इरानको रामसार शहरमा अन्तराष्टिय महत्वका सिमसारहरु सम्बन्धि महासन्धीको आयोजना भएको थियो जसलाई रामसार महासन्धिका नामले चिनिँदै आएको छ । उक्त महासन्धिमा नेपाल सहित अहिले सम्म १६४ देशहरुले हस्तक्षर गरिसकेका छन् । रामसार महासन्धिले अन्तराष्ट्रिय महत्वका सिमसारहरुलाई रामसार सुचिमा राखी दिगो व्यवस्थापनका तौरतरिकाहरुको कार्यन्वयन गर्नका लागि सम्बन्धित राष्ट्र, समुदायहरु र सरोकारवालाहरुलाई परिचालन गर्ने गर्दछ । सन् २०१३ सम्ममा विश्वका २०८३ सिमसारहरु रामसार सुचिमा परेका छन् जसको क्षेत्रफल भारतको कुल खेतीयोग्य जमिनको बराबर हुन आउँछ भने यो सुचिमा नेपालका ९ वटा सिमसारहरु परेका छन् । अहिले सम्म नेपालबाट पूर्वको कोशीटप्पु बन्यजन्तु क्षेत्र, चितवनको बीसहजार ताल, कैलालीको घोडाघोडी ताल, कपिलबस्तुको जगदीशपुर जलाशय, सोलुखुम्बुको गोक्यो र आसपासको तालहरु, रसुवाको गोसाइकुण्ड, डोल्पाको फोक्सुण्डो ताल, मुगुको राराताल र इलामको माइपोखरी रामसार सुचीमा परेका छन् । यसै सन्दर्भमा नेपालको परिप्रेक्ष्यमा सिमसार र समुदायको अन्योन्याश्रित सम्बन्धलाई मध्यनजर राखी सिमसारहरुको दिगो व्यवस्थापन गर्न सकेमा समुदायको दीगो जीविकोपार्जन र जलवायु परिवर्तनबाट हुने समस्याहरुसँग अनुकुल हुनका लागि पनि सिमसारबाट प्रत्यक्ष फाइदा लिन सकिन्छ । त्यसैले हाम्रो समाजको दिगो विकास र जीविकापार्जनका लागि समुदायमा आधारित सिमसार ब्यवस्थापनका उपायहरुको प्रयोग र प्रवर्धन गर्दै अति सिमान्तकृत समुदायहरुलाई पनि यसको व्यवस्थापन र यसबाट हुने लाभको न्यायोचित वितरणमा संलग्न गराउनु आजको आवश्यकता रहेको छ ।

Comments

Popular Posts