Tuesday, June 4, 2013

नेपालमा कृषिपर्यटनको सम्भावना

सामान्य बुझाइमा पर्यटन भनेको रमाइलो गर्न, छुट्टी मनाउन तथा व्यापारिक उद्देश्यले आफु बसिरहेको स्थानबाट कुनै नयाँ स्थानमा गरिने यात्रालाई भनिन्छ । यो यात्रा एक दिन भन्दा बढी र एक बर्ष भन्दा कमीको भएमा मात्र यसलाई पर्यटनका रुपमा लिन सकिन्छ । विश्वमा पर्यटनलाई एउटा प्रख्यात ब्यवसायका तथा क्रियाकलापमा रुपमा लिइएको छ । अहिले आएर विश्वका कतिपय देशका लागि पर्यटन अर्थतन्त्रको प्रमुख आधारका रुपमा देखापरेको छ । पर्यटनले विशेष गरी कुनै पनि देश, शहर तथा समुदायको आर्थिक तथा सामाजिक उन्नतिमा विशेष योगदान पु¥याउने हुनाले विश्व पर्यटनको मनिला घोषणपत्र १९८० ले पनि पर्यटनलाई एउटा महत्वपूर्ण क्रियाकलापका रुपमा लिइनु पर्ने जनाएको छ । संस्कृतिको आदानप्रदान, रोजगारीका अवसरहरु, ज्ञान सिप तथा प्रविधिको आदानप्रदान र समग्रमा आर्थिक उन्नति र विकासका लागि नै पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । पर्यटकीय दृष्टिकोणले नेपाल पनि विश्वमा एउटा महत्पूर्ण पर्यटकीय स्थलका रुपमा अगाडी आउँदछ । यहाँको विविध जलवायु, भुबनोट, प्राकृतिक भुपरिधि, खोला नाला, झरना छहरा, हिमाल, ताल, बन्यजन्तु, धर्म, संस्कृति, तथा ऐतिहासिक स्थलहरु पर्यटनका प्रमुख आकर्षणका रुपमा चिरपरिचित भएका छन् । हामीकहाँ आउने धेरै पर्यटकहरु प्रायजसो कि त हिमालको आधार शिविर तर्फ या त बन्यजन्तुहरु तथा तालतलैयाहरु अवलोकन गर्नका लागि जाने गरेको पाइन्छ । यी श्रोतहरु हाम्रालागि पर्यटकीयक्षेत्रका रुपमा चिरपरिचित भएका र सजिलै प्रचारप्रसार गर्न सजिलो भएका कारणले पनि अहिले हिमाल र तालमा पर्यटनका पूर्वाधारहरुको विकास हुँदै गएको देख्न सकिन्छ । यधपि नेपालमा पर्यटनका विविध सम्भावनाहरु रहेका छन् । नेपालको क्षेत्रफल तथा यहाँको कमजोर भुबनोटलाई मध्यनजर गर्ने हो भने नेपालको पर्यटनले केही निश्चित पर्यटकहरुलाई मात्र थेग्न सक्दछ । त्यसैले नेपाली पर्यटनको प्रबर्धन गर्नका लागि केही हद सम्म पर्यटकको संख्या बृद्धि गरी त्यस पछि पर्यटक संख्यालाई भन्दा पनि उनीहरुको बसाइलाई लम्ब्याउन तर्फ ध्यान दिनु जरुरी देखिन्छ । हिमाल र तालका अतिरिक्त नेपालमा यहाँको पर्यटनको दिगो विकासका दृष्टिकोणले प्रचारप्रसार गर्न सकिने अन्य आकर्षणहरु पनि रहेका छन् । यिनै आकर्षणहरुको माध्यमबाट नेपालमा आउने विदेशी पर्यटकहरुको तथा आन्तरिक पर्यटकहरुको बसाइलाई लम्बाउन सकिन्छ । यिनै आकर्षणहरु मध्ये नेपालको कृषिलाई पनि एउटा प्रमुख आर्कषणका रुपमा प्रचारप्रसार गरि नेपालको ग्रामिण भुभागमा कृषि पर्यटनको विस्तार गर्न सकिन्छ । नेपाल मुलतः कृषि प्रदान देश हो । कृषि नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण मेरुदण्ड पनि हो । नेपाल सरकार कृषि बिभागको एक तथ्याङ्कका अनुसार नेपालको कृषिले ६६ प्रतिशत सक्रिय जनसंख्यालाई रोजगारीको अवसरहरु प्रदान गर्दै आएको छ भने नेपालको कुल गार्हस्थ उत्पादनमा ३९ प्रतिशत योगदान पु¥याएको छ । बिदेश ब्यापारकालागि कृषि जन्य उत्पादनहरुको योगदान १३ प्रतिशत रहेको छ । कृषिलाई पर्यटनमा समायोजन गर्न सकियो भने पर्यटन व्यवसायलाई दुइ हिसाबले फाइदा पुग्छ । पहिलो पर्यटकको बसाई लम्ब्याउन भने दोस्रो कृषि उपजहरुलाई उपहारका रुपमा बिक्रीवितरण गरेर । हावापानीको विविधता तथा भौगोलिक विविधताले गर्दा नेपालमा विभिन्न प्रकारका बालीनालीहरु लगाउन सकिन्छ र लगाइँदै आइएको पनि छ । पर्यटकीय आकर्षणका हिसाबले कृषि बालीहरु, पशुबस्तुहरु र तिनका जात, कृषि जन्य उत्पादनहरु, कृृषि प्रणाली तथा कृषि पारिस्थितिकीय प्रणाली, र कृषि उत्पादनका कार्यहरुलाई कृषि पर्यटनको प्रमुख कियाकलापका रुपमा लिन सकिन्छ । हिमाली भुपरिधिमा रम्न आएका पर्यटकहरुलाई ब्यवस्थित गाउँहरुमा राखेर मौषमअनुसार कृषिका आकर्षणहरुबाट पनि मनोरञ्जन दिन र ज्ञान तथा संस्कृतिको आदान प्रदान गर्न सकिन्छ । उदाहरणका लागि धान रोपाईको प्रक्रिया, दाइँ हाल्ने, धान बत्ताउने तथा टौवा बनाउने क्रियाकलापहरु, कोदो ठटाउने, कोदोको परिकार (ढिँडो बनाउने) बनाउने र खाने, विभिन्न फलफूलहरुको प्रशोधन, स्थानीय बालीका विविध जातहरुको अवलोकन गराउने, मौरी पालन, मह काड्ने प्रक्रिया, पर्यटकको इच्छानुसार स्थानीय खानाका खुवाउने आदि जस्ता क्रियाकलापहरु कृषि पर्यटनका आधारहरु हुन सक्छन् । नेपालको पूर्वी जिल्ला इलाममा भ्रमण गर्न जाने पर्यटकको आकर्षण भनेको त्यहाँको चिया बगान हो । त्यहाँबाट पर्यटकले अकबरे खुर्सानी, चिया, छुर्पी, चिज, अलैँची, र विभिन्न जडीबुटीहरु किनेर आफ्नो प्रयोगका लागि ल्याउने गरेको देखिन्छ । इलामले जसरी नै नेपालका अन्य जिल्लाहरुले पनि आफ्नो जिल्लामा पाइने कृषि उपजहरुलाई पर्यटकीय आकर्षण र उत्पादनका रुपमा प्रबद्र्धन गर्न सक्दछन् । उदाहरणका रुपमा हिमाली जिल्लाहरुमा चौँरी, स्याउ, च्याउ, चुक, यार्सागुम्बा लगायत अन्य जडीबुटीहरुलाई कृषि पर्यटनका रुपमा बजारीकरण गर्न सकिन्छ । हिमाली जिल्लाहरुमा पाइने कृषि जैविक विविधता जस्तै गहुँ, जौ, उवा, लट्टे, चिनो, कागुनो, आदिको खेतबारी, खेती गर्ने तथा बाली भित्र्याउने क्रियाकलापहरु पनि पर्यटकका लागि आकर्षण हुन सक्छन् । इलामको सिरी गाई, मुस्ताङको लुलु गाई, हिमाली भेगमा पाइने च्याङ्ग्रा र सिन्हाल बाख्रा, मध्यपहाडी भेगमा पाइने खरी बाख्रा, स्थानअनुसार पाइने गाई भैँसी, बंगुर तथा कुखुराका जातहरु पनि कृषि पर्यटनका अकर्षण हुन सक्छन् । त्यसैगरी चिराइतो खेती, कफी खेती, लोक्ता खेती, सुन्तला, जुनार, नासपाती, कागती आदी लगाएतका उपजहरुलाई ठाउँ विशेष प्रबर्धन र प्रचारप्रसार गर्न सकिन्छ । पोखरा आसपासका क्षेत्रमा पोखरेली जेठो बुढो, बास्ना आउने घिरौँला, सुन्तला, रोपाई जात्रा, सिमसारमा आधारित खेती प्रणाली, प्रांगारिक खेती गरिएको क्षेत्र, स्थानीय माछाहरु, धानका जंगली जातहरु भएको क्षेत्रहरु, कोदो र धान रोपाइ सँग सम्बन्धित क्रियाहरु र किसानका स्थानीय अन्वेषणहरु आदि लाई कृषि पर्यटनका क्रियाकलापका रुपमा लिन सकिन्छ । कृषक समुदायले संरक्षण गर्दै आएका कृषि जैविक विविधता, बीउ बैँक, जैविक विविधता प्रदर्शनी, ब्यवस्थित घर बगैँचाहरु, स्थानीय कृषिजन्य सानाउधोगहरु, प्रांगारिक मल तथा विषादी तथा तयार गर्ने विधिहरु पनि, हलो जोत्ने, गोरु दाउने, नेपालको परम्परागत कृषि प्रणाली जस्तै खोरिया खेती र सरुवा खेती, र कृषि सँग सम्बन्धित विभिन्न सास्कृतिक पर्वहरुमा पर्यटकलाई सहभागि बनाउने (जस्तैः दियाली, रोपाइ जात्रा, असार पन्ध्र, पुसे पन्ध्र, साउने सक्रान्ति (राँको फाल्ने), माघे सक्रान्ति आदि) पनि कृषि पर्यटनका क्रियाकलापहरु हुन सक्छन् । बास्तवमा पर्यटकहरुका विविध चाहना तथा अबलोकन गर्ने इच्छाहरुलाई परिपुर्ति गर्नका लागि कृषिजन्य क्रियाकलापहरुलाई पर्यटन सँग समायोजन गर्न सकिएमा नेपाली पर्यटन व्यवसायमा स्थानीय समुदायको पनि सक्रिय सहभागिता गराउन सकिने सम्भावनाहरुलाई यथार्थमा परिणत गर्न सकिन्छ । जसवाट स्थानीय स्वरोजगारी प्रबर्धन भई नेपालको स्थानीय विकासमा पर्यटन व्यवसायले सुनौलो इट्टा थप्न सहयोग पुग्ने देखिन्छ । त्यसैले राज्य र किसान सँग काम गर्ने विभिन्न निकाय तथा पर्यटन व्यवसायीहरुले पनि नेपालमा कृषि पर्यटनका अवसरहरुबाट फाइदा लिनका लागि लगानी गर्नुपर्ने समय आइसकेको छ ।

No comments:

Post a Comment